शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा मातृ तथा शिशु स्वास्थ्य, दीर्घ रोगी, ज्येष्ठ नागरिक र किशोरी लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ ।

स्वास्थ्य पूर्वाधार सुदृढीकरणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सुत्केरी पोषण, पूर्ण खोप सुनिश्चितता, चिकित्सकीय सेवाको निरन्तरता, नगर अस्पतालको सुदृढीकरण तथा स्वास्थ्यकर्मी व्यवस्थापनलगायत कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।

उनले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत सात सयभन्दा बढी गर्भवतीको निःशुल्क गर्भ परीक्षण (अल्ट्रासाउण्ड) गरिएको जानकारी दिए ।

यस्तै, ७४ जना दीर्घ रोगीलाई मासिक उपचार खर्च उपलब्ध गराइएको छ भने ५०० जना ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्य परीक्षण, रोग निदान तथा स्वास्थ्य अभिलेख सङ्कलन गरिएको शाखा प्रमुख भट्टले जानकारी दिए ।

उनका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ५६३ किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप प्रदान गरिएको छ ।

नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नगरका विभिन्न स्थानमा विशेषज्ञ स्वास्थ्य सेवा शिविर, पोषण खोजपड्ताल तथा क्षयरोग खोजपड्ताल कार्यक्रमसमेत सञ्चालन गरिएको शाखा प्रमुख भट्टले बताए । ‘स्वास्थ्य बिमाको पहुँच विस्तार गर्दै हालसम्म तीन हजारभन्दा बढी परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन्’, उनले भने, ‘स्वास्थ्य सेवाको गुणस्तर सुधारका प्रयास स्वरूप पीपलाडी स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको सूचीमा परेको छ, चौकीमा प्रयोगशाला सेवा सुदृढ गर्दै लिपिड प्रोफाइल र बायोमेस्ट्रीलगायत परीक्षण सेवा थप सञ्चालनमा ल्याइएको छ ।’

यसैबीच, शव व्यवस्थापन सेवालाई व्यवस्थित बनाउन शव चिस्यान यन्त्र खरिद गरिएको जनाउँदै शाखा प्रमुख भट्टले शवबाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गरे ।

उनका अनुसार आगामी दिनमा पनि गुणस्तरीय, सर्वसुलभ र नागरिकमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखी कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =