बयान फेरेपछि सरकारी साक्षी चापागाईविरुद्ध मुद्दा दायर

काठमाडौँ । सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार विशेष अदालतमा विचाराधीन वादी नेपाल सरकार तथा प्रतिवादी झलकराम अधिकारीसमेत भएको घुसररिसवत तथा भ्रष्टाचार मुद्दामा चापागाईले आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका–५ स्थायी ठेगाना भएका चापागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अन्तर्गत सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । अनुसन्धानका क्रममा सहयोग गरेको आधारमा उनलाई सजाय मागदाबीबाट पूर्ण छुट दिइएको थियो ।

तर विशेष अदालत काठमाडौंमा २०८३ जेठ १३ गते बकपत्र गर्ने क्रममा उनले आयोगसमक्ष दिएको बयान तथा मिसिल संलग्न प्रमाणको प्रतिकूल हुने गरी बयान दिएको आयोगको निष्कर्ष छ ।

अनुसन्धानबाट झलकराम अधिकारीले राजस्व चुहावटसम्बन्धी अनुसन्धान तथा कारबाही नगर्ने लगायतका कामका लागि गैरकानुनी लाभ लिने उद्देश्य राखी एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट ५० लाख रुपैयाँ घुस लिएको आरोप छ । उक्त रकम बराबरको चेक विकासकुमार चापागाईको नाममा काट्न लगाई उनले रकम आफ्नो बैंक खातामा जम्मा गरेको तथा झलकराम अधिकारीको निर्देशनमा खरिद गरिएको जग्गाको भुक्तानीमा प्रयोग भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार चापागाईको उक्त कार्य भ्रष्टाचार निवारण ऐनको दफा ३ बमोजिमको कसुरजन्य कार्यमा मतियार भएको देखिएको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनअन्तर्गत पनि कसुरमा सहयोग तथा सहजीकरण गरेको पुष्टि भएको दाबी गरिएको छ ।

यस आधारमा बिगो ५० लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनबमोजिम सजायको मागदाबी गर्दै आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =