रास्वपा केन्द्रीय सदस्यमा युवा तथा रोजगारमन्त्री रामजी यादवको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मधेस क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित यादवले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ ।

भारतस्थित प्रतिष्ठित शैक्षिक संस्था आईआईटी मद्रासबाट एमटेक अध्ययन गरेका इन्जिनियर यादवलाई पार्टीभित्र प्राज्ञिक तथा युवा नेतृत्वको प्रतिनिधिका रूपमा हेरिन्छ ।

उम्मेदवारीसँगै यादवले नीतिगत स्पष्टता, सामाजिक रूपान्तरण, समावेशी पहिचान तथा समानतामूलक समाज निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताएका छन् ।

उनले ‘नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता’ लाई आफ्नो राजनीतिक अभियानको आधार बनाएको उल्लेख गर्दै मधेसको सम्मान र राष्ट्र निर्माणमा सबै समुदायको योगदान सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेका बेला यादवको उम्मेदवारीले मधेसी समुदायको प्रतिनिधित्व तथा युवा प्राविधिक नेतृत्वको भूमिकालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यादवले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी गराउन अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =