शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

चितवनमा आइतबारदेखि जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत पोखरेलले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल प्रस्तावक रहेका छन् भने पार्टीका २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

उम्मेदवारी दर्तापछि पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन आफूले इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेल रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =