सांसदहरूलाई मन्त्री लम्सालको आश्वासन- निर्धक्क भए हुन्छ, ठूला आयोजनाका लागि बजेटको अभाव हुन्न

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरेका हुन् ।

त्यसअवसरमा उनले वहुवर्षीय आयोजनाहरूका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरूलाई आश्वस्त बनाए । मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरूको लागि बजेटको अभाव नहुने पनि बताए ।

उनले भने ‘ठूल्ठूला योजनाहरूलाई पनि थोरैथोरै बजेट भन्ने गुनासो छ । राजमार्ग भनेको छ । बजेट एक अर्ब हालेको छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोविलाईजेशन हुन्छ । काम गर्नु हुन्छ उहाँहरूले । एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुन्छ । जति पैसा लाग्छ, त्यो योजनालाई । त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट किताबमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नु भएको हो । सबै धेरैजसो हाइवेहरू वहुवर्षिय नै हुन्छ । त्यसमा कमै पैसा देखिए पनि त्यो निर्माण सम्पन्न हुनका लागि जति पैसा चाहिने हो, त्यो पैसा छ । त्यसमा निर्धक्क हुनुहोला ।’

मन्त्री लम्सालले कुनै जरुरी महत्वको आयोजना भए त्यसलाई अघि बढाउन सरकार तयार रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =