चिकित्सा शिक्षा आयोगको बैठकमा ‘कानूनले नचिनेको व्यक्ति’को उपस्थितिप्रति बरालको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले मान्यता नदिएको व्यक्ति उपाध्यक्षको हैसियतमा सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिमाथि प्रश्न उठाए ।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र नयाँ उपाध्यक्ष नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समितिले प्रक्रिया अघि बढाइरहेको अवस्थामा गिरी कसरी बैठकमा सहभागी भए भन्ने प्रश्न गरे ।
बरालले उक्त बैठकबाट चिकित्सा शिक्षासँग सम्बन्धित दीर्घकालीन महत्त्वको छात्रवृत्ति कार्यविधिसमेत स्वीकृत गरिएको उल्लेख गर्दै बैठक र त्यसबाट भएका निर्णयहरूलाई अवैध भएको दाबी गरे । आयोगको कार्यवाहक जिम्मेवारी दिनुपर्ने अवस्था आए आयोगकै वरिष्ठ सदस्यलाई जिम्मेवारी दिनुपर्नेमा बाहिरी व्यक्तिलाई सहभागी गराइनु न्यायोचित नभएको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको मान्छे उपाध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो । १० जनाले आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा श्रीकृष्ण गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभयो ? यो अचम्मको विषय हो,’ उनले भने ।
सांसद बरालले यस्तो गैरकानुनी प्रक्रिया तत्काल रोक्न र आयोगका गतिविधि तथा निर्णय प्रक्रियालाई विधिसम्मत ढंगले अगाडि बढाउन सरकारसँग माग गरे ।









