भारतीय सहयोगमा मुस्ताङमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको औपचारिक उद्घाटन गरिएको छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले एक विशेष समारोहका बीच उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरे ।
‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण गरिएको यो दुई तले छात्रावास भवनमा चारवटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू रहेका छन् । यस परियोजनाको कार्यान्वयन लोमन्थाङ गाउँपालिका मार्फत गरिएको हो । लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले यस क्षेत्रको स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

बौद्ध शिक्षाका साथै यस विद्यालयले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम अनुरूपको गुणस्तरीय शिक्षा समेत प्रदान गर्दै आएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदुत नवीन श्रीवास्तवले परियोजनासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले साझा विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहोर्याए ।
सो अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरे । नयाँ पूर्वाधारले विद्यालयको आवास सुविधा सुदृढ बनाउनुका साथै सिकाइ वातावरणमा समेत सुधार ल्याउने विश्वास उनीहरूले व्यक्त गरे ।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत हालसम्म नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लालाई समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू अगाडि बढाइसकेको छ । जसमध्ये गण्डकी प्रदेशमा ६३ वटा परियोजनाहरू रहेका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजनाहरू सञ्चालित छन् ।
यसबाहेक, भारतले मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बससहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई कुल १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । निकटतम छिमेकीका रूपमा नेपाल र भारतबीच बहुआयामिक सहकार्य रहँदै आएको छ। यस किसिमका विकास परियोजनाहरूको सफल कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई थप बल पुर्याउनुका साथै दुई देशबीचको निरन्तर सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई प्रतिविम्वित गरेको छ ।










