नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, दीपक भट्ट-सुलभ अग्रवालको थुनछेक बहस

काठमाडौँ । थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भीडले अस्तव्यस्त बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत र विशेष अदालतमा मंगलवार दुई ठूला मुद्दामा सुनुवाइ भइरहेको छ ।

काठमाडौँ जिल्ला अदालत र छेउमै रहेको विशेष अदालतमा मंगलवार दुई ठूला भ्रष्टाचार र आर्थिक अनियमिततासम्बन्धी मुद्दामा सुनवाइ भइरहेको हो ।

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा पाँच दिनदेखि काठमाडौँ जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिकालगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरणको यो मुद्दाको गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको छ ।

२०८० जेठ १० मा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटी र अरू १६ जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गरिएको थियो ।

१२ जना फरार थिए । पछि फरार रहेका केही व्यक्ति पक्राउ परे पनि अझै केही अभियुक्त फरार अवस्थामै छन् । जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् ।

जिल्ला अदालतमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी,तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राईका छोरा निरज राई विरुद्धको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा सम्भवतः मंगलवार नै फैसला आउनेछ ।

दीपक भट्ट र सुलभ अग्रवालसहितलाई थुनामा पठाउने या धरौटीमा छोड्ने रुः विशेष अदालतमा हुँदै छ थुनछेक बहस

सम्पत्ति शुद्धीकरणमा मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा थुनछेक बहस जारी छ । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा मंगलवार बयान लिने काम जारी हुने छ । लगत्तै थुनछेक बहस हुने छ ।

थुनछेक बहसपछि अदालतले थुनामा पठाउने वा धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ । सोमवार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् । हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =