लुम्बिनी सरकारद्वारा बजेट पेस गर्न स्वीकृति प्रदान

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेका प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । बजेट प्रस्तुत गर्नका लागि आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ ।

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र आगामी आर्थिक वर्षको बजेट वक्तव्यसहितको राजस्व तथा व्ययको अनुमान प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।

आगामी आवको बजेटमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आव २०८२/८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । आगामी आवको बजेटको आकार, स्रोत व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =