एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः गुरु बराल

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद र बजेटमार्फत गरिएको करका दर हेरफेरप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुक सुशासन र विधिको शासनबाट मात्र अगाडि बढ्न सक्ने भए पनि वर्तमान सरकार यी विषयमा असफल भएको आरोप लगाए ।
सांसद बरालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय अतिक्रमणको बहस चर्किएको दाबी गर्दै सीमावर्ती क्षेत्रका नागरिकले राज्यको पर्याप्त उपस्थितिविना पनि आफ्नो भूमिको रक्षा गरिरहेको बताए ।
उनले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याको विषय नउठाइएको भन्दै असन्तुष्टि जनाए । साथै, चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग सम्बन्धित विषयमा स्पष्ट छलफल हुनुपर्ने माग गरे ।
बरालले बजेटमार्फत करका दरमा गरिएको हेरफेरको पनि आलोचना गरे । विशेषगरी ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्तालाई करको दायरामा ल्याउने निर्णयप्रति आपत्ति जनाउँदै उनले यसलाई ‘जनताको भान्सामाथिको आक्रमण’को संज्ञा दिए ।
उनले अर्थमन्त्रीले केही निश्चित पक्षलाई लाभ पुग्ने गरी कर संरचना परिवर्तन गरेको आरोपसमेत लगाए ।
सांसद बरालले निर्माण व्यवसायीलाई लक्षित गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको भनिएको अभिव्यक्तिको पनि आलोचना गरे । ‘विधिको शासनमा कसैलाई खुट्टा भाँचिदिने जस्ता अभिव्यक्तिको स्थान हुँदैन,’ उनले भने, ‘काम नगर्ने वा सम्झौता उल्लंघन गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ, तर हिंसात्मक धम्की दिनु उचित होइन ।’
सरकारले विगतका विभिन्न काण्डको फाइल खोल्ने चेतावनी दिएको विषयमा प्रतिक्रिया दिँदै उनले नेकपा (एमाले) कुनै पनि छानबिन र परीक्षण सामना गर्न तयार रहेको बताए ।
सुदूरपश्चिमको गोदावरी क्षेत्रमा वनरक्षकहरूले एक महिलाको अटो भिरबाट खसालेको भनिएको घटनाप्रति दुःख व्यक्त गर्दै बरालले त्यसलाई शक्तिको दम्भको उदाहरण भएको टिप्पणी गरे ।
उनले बढ्दो महँगी, शिक्षा क्षेत्रमा शुल्क वृद्धि र जनजीविकासँग जोडिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै सुशासनको दिशामा ठोस कदम चाल्न आग्रह गरे ।









