सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्: काँग्रेस सांसद रोकाय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
सांसद रोकायले सरकारले कार्यान्वयन गर्न नसकिने गरी बजेट ल्याएको जिकिर पनि गरे ।
उनले सरकारले उत्पादनलाई भन्दा पनि राजस्व संकलनलार्ई राष्ट्रिय आएको रूपमा देखाउने प्रयास गर्नु मुलुकको अर्थतन्त्रको विकासका लागि उचित नभएको पनि बताए ।
सांसद रोकायले भने ‘बजेटका प्रशस्त कमजोरीहरू छन् । जस्तै विकास खर्च धेरै कम छ । ऋणको भार बढ्दै गएको देखिन्छ । नेपालको विगतमा वर्षहरूमा पुँजीगत खर्चहरू गर्न नसक्ने अवस्था देखिएका कार्यान्वयनमा नै मुख्य चुनौती देखिन्छ । तलब वृद्धिमा विभेद गरिएको छ । राजनीतिक दृष्टिकोणले हेर्दा यो बजेटले राजस्व संकलनलाई मुख्य स्रोतको रूपमा देखाएको छ ।’
सांसद रोकायले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि कुनै ठोस कदम नचाहेको पनि बताए ।









