वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपाल बीच उड्डयन क्षेत्र सुदृढीकरण सम्झौता

काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपाल (AOAN) र एरोनटिकल सोसाइटी अफ नेपाल (AeSN) बीच महत्त्वपूर्ण सम्झौताहरू भएको छ ।
आज वायुसेवा सञ्चालक संघको नेतृत्वमा नेपालको सम्पूर्ण उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका आवश्यकता र चुनौतीहरू सामना गर्न सक्षम बनाउने उद्देश्यका दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
वायुसेवा सञ्चालक संघ, नेपालको स्थापना २०५५ सालमा नेपालको उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्थाको रूपमा भएको हो । यसले वायुसेवा सञ्चालकहरू, उद्योग सरोकारवालाहरू तथा उड्डयन क्षेत्रको समग्र हित प्रवर्द्धन गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।
एरोनटिकल सोसाइटी अफ नेपाल स्थापना २०७५ सालमा स्थापना भई यसले प्राविधिक ज्ञान, अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा योगदान पुऱ्याउँदै आएको छ ।
दुवै संस्थाले आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई एकीकृत गर्दै नेपालको उड्डयन क्षेत्रको समग्र विकास, एकता र सुदृढीकरणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
विश्वव्यापी रूपमा उड्डयन उद्योग डिजिटल रूपान्तरण, स्वचालन, दिगोपन, डेटा–आधारित निर्णय प्रणाली, वातावरणीय उत्तरदायित्व तथा नवीन प्रविधिको प्रयोगतर्फ तीव्र गतिमा अघि बढिरहेको वर्तमान परिवेशमा नेपालले पनि आफ्नो उड्डयन क्षेत्रलाई भविष्यका आवश्यकता अनुरूप रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ ।
यस सन्दर्भमा AOAN ले सम्पूर्ण उड्डयन समुदायबीच सहकार्य, ऐक्यबद्धता र साझा दृष्टिकोण निर्माण गर्दै उद्योगलाई भविष्यका अवसर तथा चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको जानकारी दिइएको छ ।
सहकार्यका प्रमुख क्षेत्रहरू:
१. उड्डयन क्षेत्रको समग्र क्षमता विकास तथा नेतृत्व प्रवर्द्धन गर्ने,
२. उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने,
३. अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्ने,
४. विद्यार्थी, युवा पेसाकर्मी तथा भावी नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
५. सुरक्षा, दिगोपन, नवप्रवर्तन तथा अनुसन्धान प्रवर्द्धन गर्ने, वायुसेवा संचालक संघ, नेपाल
६ .उड्डयन क्षेत्रमा सुरक्षा संस्कृति को विकास तथा प्रवर्द्धन गर्ने,
७. दिगी उड्डयन, अनुसन्धान, प्राविधिक अध्ययन तथा ज्ञान उत्पादनलाई प्रोत्साहन गर्ने,
८. डिजिटलाइजेशन, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता तथा अन्य उदीयमान प्रविधिहरूको प्रयोग विकाससम्बन्धी सहकार्य विस्तार गर्ने,
९. उड्डयन क्षेत्रभित्र एकता, समन्वय तथा ज्ञान साझेदारी गर्ने,
१०. उद्योग, शैक्षिक संस्था, प्राविधिक समुदाय तथा अन्य सरोकारवालाबीचको सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने,
११. सेमिनार, सम्मेलन, कार्यशाला तथा प्राविधिक अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गर्ने,
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा नीति संवाद कार्यक्रम सञ्चालन गर्ने,
वायुसेवा सञ्चालक संघ, नेपालले नेपालको उड्डयन क्षेत्रलाई एकीकृत, प्रतिस्पर्धी, सुरक्षित र भविष्यका चुनौतीहरूसँग सामना गर्न सक्षम बनाउने साझा अभियानमा सबै सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ ।









