अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ ।

वि.सं २०६७ असार १ गते नेपालले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो ।

पहिलो वर्ष सरकारले सूचीकरणका लागि निवेदन आह्वान गर्दा १०५ वटा आवेदन मन्त्रालयमा दर्ता भएको थियो । तीमध्ये ललितपुर जिल्लाका नेवार समुदायले बनाउने योमरी राष्ट्रिय सूचीकरण भएको थियो ।

योमरी अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा पर्ने पहिलो अमूर्त सम्पदा हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ ।

माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका–८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको हो ।

यसैगरी माडी गाउँपालिका–६ रोल्पाका मगर समुदायले मनाउने नचारु स्याइँ नाचलाई पनि राष्ट्रिय सूचीकरण गरिएको छ ।

मन्त्रालयले महासन्धिअनुसार विभिन्न समुदायको पहिचान एवं अभिलेखीकरणमार्फत अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्रिय सूचीकरण थालनी गरेको हो ।

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम चालु आर्थिक वर्षमा मन्त्रीस्तरीय निर्णयबाट उक्त पाँच अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण गरिएको हो ।

सम्पदा राष्ट्रिय सूचीकरण गर्न लागि पर्ने व्यक्ति वा संस्थालाई अभौतिक सांस्कृतिक सम्पदा दिवस पारेर आज मन्त्रालयमा सम्मान गरियो ।

सम्पदा अभियानकर्मीलाई सम्मान गर्दै मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संस्कृतिका धनी देश नेपालका जात, जाति र संस्कृतिको सम्मानका लागि दिवस मनाउन थालिएको बताए ।

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको चरणमा रहेको जानकारी उनले दिए ।

मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि नेपालले अनुमोदन गरेको १५ वर्षपछि २०८२ असार १ गतेलाई यससम्बन्धी राष्ट्रिय दिवस मनाउन सुरु गरिएको जानकारी दिए ।

गत वर्ष सूचीकरणमा परेको ललितपुरका नेवार समुदायको योमरीलाई यस वर्ष संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =