मौरीपालक किसानलाई परागकण वितरण

चितवन । चितवनको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोल) वितरण गरेको छ ।
कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोल वितरण गरिएको हो ।
वर्षातको समयमा मौरीले पोल बनाउन नसक्ने भएकाले किसानलाई पोल वितरण गरिएको हो ।
नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिब शर्माका अनुसार परागकणले मौरीको घार बलियो बनाउन सहयोग गर्ने छ भने यसलाई मौरीको बच्चाको मुख्य आहाराको रुपमा लिइन्छ ।
उनका अनुसार परागकण पर्याप्त भएको समयमा रानीले अण्डा धेरै पार्ने र बर्सात पछि उत्पादन वृद्धि हुने गर्दछ ।
पालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरबासी मौरी उत्पादक किसानलाई परागकण वितरण गरेकी हुन् ।
परागकण वितरण गर्दै उनले कालिका नगरपालिकाले बिगत देखिनै किसानको हितमा काम गर्दै आएको बताइन् ।
मुख्यगरी जीविको पार्जन संग सम्बन्धित कामहरूलाई निरन्तरता दिँदै आएको उनको भनाई छ ।
कालिका –६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौरीको घारका आधारमा परागकण वितरण गरिएको हो । एक जना किसानले मौरीको घारका आधारमा बढीमा २५ किलो सम्म परागकण पाएको उनले बताए ।
जिल्लामा हाल ६ सय किसानले १९ हजार घार मौरी पाल्दै आएका छन् । ती मध्ये कालिका नगरपालिकामा १०० जना मौरीपालक किसान रहेको पूर्ब अध्यक्ष शर्माले जानकारी दिए । अहिले जिल्लामा प्रतिघार २६ किलो मह वार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।









