झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद निशा डाँगीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीले मच्चाएको वितण्डा र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले दशकौँदेखि जारी समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग गरिन् ।

सांसद डाँगीले आइतवार बिहान मेचीनगर–स्थित बाहुनडाँगीमा आफ्नै घरबाहिर फूल टिप्ने क्रममा ६२ वर्षीय पद्म पौडेलको हात्तीको आक्रमणबाट ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरिन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् ।

त्यस्तै, सोमवार बिहान मात्रै मेचीनगर–१ का किसानहरूको करिब ३ बिघा मकैबाली हात्तीले नष्ट गरेको जानकारी पनि उनले सदनलाई दिइन् ।

‘बाहुनडाँगीबासीका लागि हात्तीको त्रास नयाँ कुरा होइन, यो समस्या विगत ३५–४० वर्षदेखि निरन्तर छ,’ उनले भनिन्, ‘त्यहाँका नागरिक बिहान खेतमा जाँदा, साँझ घर फर्कँदा र राति सुत्दा समेत हात्तीको आक्रमणको डरमा बाँच्न बाध्य छन् ।’

उनका अनुसार प्रत्येक साँझ भारततर्फबाट ४० देखि ५० को हाराहारीमा हात्तीहरू नेपाल प्रवेश गर्ने र रातभरि क्षति पुर्‍याएर बिहान फर्कने गरेका छन् ।

सांसद डाँगीले हात्तीको आक्रमणबाट ज्यान जानुका साथै किसानले वर्षभरि गरेको मेहनत क्षणभरमै नष्ट हुने अवस्था रहेको बताइन् । यति ठूलो समस्या हुँदा पनि स्थानीयले राज्यको उपस्थिति महसुस गर्न नपाएको उनको गुनासो थियो ।

उनले बाहुनडाँगीलाई हात्तीको चरण क्षेत्र बनाएर अनुचित लाभ लिने व्यक्तिहरू र त्यस्ता गतिविधिमा संलग्न संघ–संस्थामाथि छानबिन गरी कारबाही गर्न पनि सरकारसँग माग गरिन् । साथै, नागरिकको जिउधन सुरक्षाका लागि सरकारले गम्भीर कदम चाल्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =