प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टिकरण आवश्यक रहेको बताएका हुन् ।

दुलालले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर नेपाली भूमिमा अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक धारणा माग गरे । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले यसबारे यथार्थ जानकारी सदनलाई गराउन सरकारसँग आग्रह गरे ।

उनले पूर्वी नेपालका चिया उद्योगहरूले भोगिरहेको संकटतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । भारतीय अवरोधका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र किसान तथा व्यवसायीहरू ठूलो समस्यामा परेको उनको भनाइ थियो ।

‘भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ, यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?’ उनले भने ।

प्रमुख सचेतक दुलालले हालै देशका विभिन्न स्थानमा भएका घटनाहरू—टेम्पो पल्टिने, घरका छानामा ढुंगा प्रहार हुने र उद्योगहरू बन्द हुने अवस्था—बारे पनि प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने बताए ।

उनले जनताका तत्कालीन समस्या समाधान गर्न र संसद्मार्फत नागरिकलाई राहतको अनुभूति गराउन सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =