सुस्तामा एसएसबी प्रवेशबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले उक्त घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।
सांसद गिरीले जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा हतियारसहितका एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको र स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको दाबी गरे ।
उनले सीमावर्ती क्षेत्रमा राज्यको कमजोर उपस्थिति रहेको भन्दै स्थानीय नागरिकहरू नै आफ्नो भूमिको सुरक्षा गर्न बाध्य भएको टिप्पणी गरे ।
‘आज म यस गरिमामय सदनमा एउटा जनप्रतिनिधि मात्र होइन, देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार हुँदा भतभती पोलेको एउटा जलिरहेको नेपाली मुटु लिएर उभिएको छु,’ सांसद गिरीले भने ।
उनले सुस्ता मात्र होइन, पशुपतिनगरदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म फैलिएको खुला सीमामा लाखौँ नागरिक असुरक्षित रहेको भन्दै सरकारको स्पष्ट नीति र दृष्टिकोण माग गरे ।
सीमा सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न, संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकमा यो विषय स्पष्ट रूपमा उठाउन पनि उनले सरकारसँग आग्रह गरे ।
सांसद गिरीले सुस्ताका स्थानीय किसानले देखाएको साहस प्रशंसनीय रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुने गरी राज्यले कदम चाल्नुपर्नेमा जोड दिए ।









