हर्क साम्पाङको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राईले राष्ट्रिय स्वाभिमान, नागरिक सुरक्षा तथा प्रहरीको भूमिकासम्बन्धी विषय उठाएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै राईले सभामुखबाट उक्त अभिव्यक्ति हटाउने आदेशको प्रतीक्षामा रहेको बताए ।
त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण तथा नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोधमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि उनले विरोध जनाए । माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका अजय सोदारी र बिरजन विकलाई पक्राउ गरी झुट्टा मुद्दा चलाउन खोजिएको आरोप लगाउँदै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
राईले देशभक्त युवाहरूलाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे ।
प्रहरीको पछिल्लो व्यवहारमाथि प्रश्न उठाउँदै उनले विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको तथा एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे ।
‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘पीडित चालकलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।’
सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुंगा प्रहार गर्ने जस्ता उच्छृङ्खल गतिविधि भइरहेको उल्लेख गर्दै राईले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महसुस गर्नु लोकतन्त्रका लागि घातक हुने टिप्पणी गरे ।
उनले नागरिकले प्रहरी देख्दा सुरक्षा, शान्ति र भरोसाको अनुभूति गर्ने वातावरण निर्माण गर्न तथा लोकतन्त्रको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरे ।









