ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय

एजेन्सी । अमेरिकी सेनाले सोमवार ओमानको खाडीमा एउटा खाली तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) काअनुसार उक्त जहाजले इरानको बन्दरगाहमा जान खोजेर इरान विरुद्ध जारी अमेरिकी नौसैनिक नाकाबन्दीको उल्लंघन गरेको थियो ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेन्ट्रल कमान्डले ओमानको खाडीको अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानतर्फ गइरहेको पलाउको झण्डावाहक एम/टी मारिभेक्स लाई निष्क्रिय पारेको हो ।
विज्ञप्तिमा जहाजका चालक दलका सदस्यहरूले अमेरिकी सेनाको निर्देशन पालन नगरेको पनि उल्लेख गरिएको छ। युएसएस अब्राहम लिङ्कन युद्धपोतबाट उडेको एफ/ए-१८ सुपर हर्नेट लडाकु विमानले जहाजको इन्जिनियरिङ र स्टेयरिङ क्षेत्रमा अचुक निशाना प्रहार गरेपछि मारिभेक्स इरानतर्फ जान नसकेको कमान्डले जनाएको छ ।
कमाण्डकाअनुसार गत अप्रिल १३ मा नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने सातवटा असहयोगी जहाजलाई निष्क्रिय पारेको छ, निर्देशन पालना गर्ने १३४ वटा जहाजलाई अन्यत्र मोडेको छ र मानवीय सहायता सामग्री बोकेका ४२ वटा जहाजलाई भने जान अनुमति दिएको छ ।








