डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

पाँचथर । सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ ।
पाँचथरका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।
पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ ।
दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन् । दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।
अकस्मात् पानीको बहाव बढेर जोखिम हुने गरेको तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानले बताए । ‘जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ’, देवानले भने, ‘डाइभर्सन बनायो भने कतिबेला बगाउँछ, टुङ्गो नै हुँदैन ।’ ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन र ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक हुँदै सञ्चालन हुने गरेका छन् । नावालगायत खोलामा पुल निर्माणले भने गति लिइरहेको छ ।
यता, तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटारमा पटकपटक बाढीले डाइभर्सन बगाउने गरेको छ । हेँवा खोलाको मुहान क्षेत्र ठूलो रहेको र वर्षा भइरहने हुँदा यहाँ बाढी आइरहने स्थानीय बताउँछन् ।
नियमित वर्षाका कारण गत चैतदेखि बाढी आएर डाइभर्सन बगाएको छ । ‘अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सनले थाम्दथ्यो’, हिलिहाङ–७ माझीटारका रामकुमार माझीले भने, ‘यो वर्ष चैतदेखि नै यातायात अवरुद्ध भएका छन् ।’
पाँचथरमा डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर सडक हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधन मेची राजमार्गबाट फिदिम–शिवादोभान हुँदै घुम्नु पर्ने बाध्यता छ ।
तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले नियमित रूपमा डाइभर्सन मर्मत तथा व्यवस्थित संरचना निर्माणका लागि चासो नदेखाउँदा समस्या भएको हिलिहाङ–५ का वीरेन्द्र मंग्रातीले बताए । ‘एक पटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग नै हुन सकेको छैन’, मंग्रातीले भने, ‘यस क्षेत्रबाट सदरमुकाम जान पनि धेरै घुम्नु परेको छ ।’
त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा थापिएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
दोभानेमा तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनका माध्यमबाट सवारीसाधन आवातजावतको प्रबन्ध गरिएको हो । तर, धेरै पटक बाढीले डाइभर्सन बगाएको छ । यस वर्षको जेठ ८ गते अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएको थियो ।
लामो समय सडक अवरुद्ध हुन नदिई खोलामा पानीको बहाव घटेको समयमा डाइभर्सन निर्माण गर्ने गरिएको याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले बताए । ‘खोलाभन्दा माथि पनि धेरै नागरिक हुनुहुन्छ । त्यसैले खोला घटनासाथ डाइभर्सन बनाउने गरेका छौँ’, उनले भने, ‘तर, जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।’
निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि कहिले नयाँ पुल निर्माण होला भन्ने चिन्तामा स्थानीयवासी छन् । यस वर्ष वर्षायाम सुरु नहुँदै बाढी पहिरोको जोखिम बढ्नुका साथै खोला तर्ने अवस्था नभएपछि स्थानीय गहिरो चिन्तामा परेको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले उल्लेख गरे ।
यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध सडकलाई नियमित सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।








