धनुषामा लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल आएर लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेर भारतको हर्लाखी थाना वडा नं ५ का २६ वर्षीय सन्तोषकुमार महतो र भारतको बासोपट्टी थाना वडा नं २ का ४५ वर्षीय मिथिलेशकुमार साहुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले हवाई फायर गरेर दुवै जनालाई नियन्त्रण लिएको हो ।
पक्राउ परेका महतोको पाइन्टको गोजीबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ १०३.२२० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।








