कंगोको गोमामा इबोला संक्रमित एक महिला निको भई घर फिर्ता

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को पूर्वी प्रान्त उत्तर किभुको राजधानी गोमामा इबोला भाइरसबाट संक्रमित एक बिरामी निको भएकी छन् । चिकित्सक टोलीले संक्रमणमुक्त भएको पुष्टि गरेपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
बिरामी निको भएर घर फर्किएसँगै उनको परिवारमा खुशीयाली छाएको छ । लामो समयको अन्योल र चिन्ताका बीच बिरामी निको भएपछि परिवारका सदस्य कभिरा काजादीले खुशी व्यक्त गरिन् ।
उपचारमा संलग्न स्थानीय चिकित्सक बार्थेलेमी अक्सान्तीकाअनुसार बिरामीको सकारात्मक सहयोग र साहसका कारण उपचार सफल भएको हो । उनले बिरामीले चिकित्सकको निर्देशन र उपचार पद्धतिलाई पूर्ण रूपमा पालना गरेको बताए ।
डिआरसी सरकारले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३४४ जनामा इबोला संक्रमण पुष्टि भएको छ । जसमध्ये ६० जनाको मृत्यु भइसकेको छ भने हालसम्म ६ जना निको भएर घर फर्किएका छन् ।
परोपकारी संस्था डक्टर्स विदाउट बोर्डर्सकाअनुसार गोमामा ८० शैय्याको इबोला उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । यसअघिका महामारीका क्रममा स्थापित संयन्त्रहरूकै आधारमा हालको संक्रमण नियन्त्रणको प्रयास भइरहेको उक्त संस्थाले जनाएको छ ।
पूर्वी कंगोको प्रमुख सहर गोमा सन् २०२५ को सुरुदेखि नै मार्च २३ मुभमेन्ट नामक विद्रोही समूहको नियन्त्रणमा छ । असुरक्षाका कारण उत्तर किभुका कतिपय क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन कठिन भइरहेको छ ।
यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षा चुनौतीका बावजुद किभु क्षेत्रमा आफ्नो उपस्थिति र सक्रियता कायमै राखेको स्पष्ट पारेको छ । डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले सुरक्षा चुनौतीका बीच पनि आफूहरूले कार्यक्षेत्र नछोडेको बताएका छन् ।
डब्लुएचओले गत मे १७ मा डिआरसी र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ’अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो । हालको प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो प्रजातिका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार पद्धति उपलब्ध छैन ।








