बंगलादेशी विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको अध्यक्षमा निर्वाचित

एजेन्सी । बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ अधिवेशनका लागि अध्यक्षमा निर्वाचित भएका छन् । मङ्गलवार भएको निर्वाचनमा उनले बहुमत प्राप्त गर्दै सो पद सुरक्षित गरेका हुन् ।
संयुक्त राष्ट्रसंघका १९० सदस्य राष्ट्रहरूले मतदान गरेको उक्त निर्वाचनमा रहमानको पक्षमा ९९ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी साइप्रसका विदेशमन्त्रीका बहुपक्षीय मामिला सम्बन्धी विशेष दूत एन्ड्रियास एस. काकोउरिसले ९१ मत प्राप्त गरेका थिए ।
सन् २०२६ को फेब्रुअरीमा बंगलादेशको विदेशमन्त्रीका रूपमा शपथ लिएका रहमानले आगामी सेप्टेम्बरमा ८१ औँ महासभाको अधिवेशन शुरु भएपछि एक वर्षका लागि आफ्नो कार्यभार सम्हाल्नेछन् । अध्यक्षमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्दै रहमानले वर्तमान विश्वले भोगिरहेका जटिल चुनौतीहरूबारे चर्चा गरे ।
उनले भने, ‘मैले ८१औँ अधिवेशनको अध्यक्षको पद विनम्रता र सम्मानका साथ स्वीकार गरेको छु। वर्तमान समयमा द्वन्द्व र युद्धको प्रकोपले मानव समुदायलाई ठूलो पीडा दिइरहेको छ । विकासका उपलब्धिहरू जोखिममा छन् र कतिपय क्षेत्रमा ती पछाडि परिरहेका छन् । मानव अधिकार र स्वतन्त्रताको अवस्था विश्वभर खस्कँदै गएको छ भने मानवीय सहायताका क्षेत्रहरू साँघुरिँदै गएका छन् ।’
उनले बहुपक्षीयतामा बढ्दो दबाब र राष्ट्रसंघले सामना गरिरहेको वित्तीय संकटप्रति पनि ध्यानाकर्षण गराए । यी चुनौतीहरूले संस्थाप्रतिको सार्वजनिक विश्वास र वाचा पूरा गर्ने क्षमतामा ह्रास ल्याउन सक्ने उल्लेख गर्दै उनले सबै सदस्य राष्ट्रहरूसँग मिलेर यसको सामना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सन् १९५४ मा जन्मिएका रहमान सन् १९७९ मा बंगलादेशको कुटनीतिक सेवामा प्रवेश गरेका थिए । उनले सन् १९९९ मा जेनेभास्थित संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनमा विशेष सल्लाहकारको रूपमा राष्ट्रसंघको सचिवालयमा प्रवेश गरेका थिए ।
राष्ट्रसंघमा २५ वर्षभन्दा लामो सेवा अवधिमा उनले न्युयोर्क र जेनेभामा विभिन्न वरिष्ठ पदहरू सम्हाल्नुका साथै राष्ट्रसंघका महत्वपूर्ण प्रकाशनहरूमा प्रमुख लेखक र योगदानकर्ताको रूपमा कार्य गरेका छन् ।








