परम्परागत दलले जनअपेक्षा पूरा गर्न सकेनन्: सुदन किराती

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब ‘अर्गानिक’ नेतृत्व आवश्यक रहेको बताएका छन् ।
गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले परम्परागत राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशलाई सही दिशा दिन नेपालकै माटोबाट उदाएका र जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई नेतृत्वमा ल्याउनुपर्ने बताए ।
उनले विगतदेखि नै राजनीतिक क्षेत्रमा सीमित समूहको वर्चस्व रहेको उल्लेख गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीबारे बोल्दै किरातीले जनताले ठूलो आशा राखे पनि अपेक्षाअनुसार परिणाम नआएको दाबी गरे । उनले गरिब तथा विपन्न वर्गका मुद्दा उठाइए पनि व्यवहारमा असन्तुलन देखिएको आरोप लगाए ।
उनका अनुसार योजनाबिना गरिएका कतिपय निर्णयले कमजोर वर्ग प्रभावित भएको छ । राष्ट्रियता र कूटनीतिसँग सम्बन्धित केही सार्वजनिक अभिव्यक्तिले नेपालको अडान कमजोर बनाएको उनको टिप्पणी थियो ।
‘नेपाल र नेपालीले लामो समयदेखि भोग्दै आएको समस्याको अन्त्य गर्न अब कतैबाट निर्माण गरिएको वा कृत्रिम रूपमा स्थापित नेतृत्व होइन, नेपालकै माटोमा हुर्किएको अर्गानिक नेतृत्व आवश्यक छ,’ उनले भने ।
उनले जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई अघि सार्न सकिए मात्र देशले सही गति लिने दाबी गर्दै ‘हर्क साम्पाङजस्ता’ जनतामुखी नेतृत्वको उदाहरणसमेत प्रस्तुत गरे ।
किरातीले श्रम, इमानदारी र परिणाममुखी कार्यसंस्कृतिमा आधारित वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले त्यसै दिशामा प्रयास गरिरहेको बताए ।








