प्रधानमन्त्रीको ‘विवादास्पद’ अभिव्यक्ति र संसदीय नियमावलीप्रति सांसद शाहीको आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको गैर–जिम्मेवार अभिव्यक्ति र संसदीय नियमावली पारित गर्दा अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शाहीले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकताको विरुद्धमा रहेको दाबी गरे ।
संसद सञ्चालन सम्बन्धी नियमावलीमा प्रतिपक्षका सुझाव र संशोधनलाई बेवास्ता गर्दै सभामुखले बलपूर्वक प्रक्रिया अगाडि बढाएको उनको आरोप छ । संविधान संशोधनको प्रक्रिया र सांसदहरूको पद निलम्बन सम्बन्धी व्यवस्था संविधानसँग बाझिएको उल्लेख गर्दै उनले नियमावली संविधानभन्दा माथि हुन नसक्ने तर्क गरे ।
प्रधानमन्त्री बालेन्द्र साहको संसद्मा भएको आकस्मिक उपस्थितिलाई शाहीले ‘फिल्मी शैली’ को संज्ञा दिए । नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तीन दिन अगाडि नै प्रश्नहरू दर्ता गर्नुपर्ने र १५ जना सांसदको रोलक्रम निर्धारण गरिने व्यवस्था भएपनि प्रधानमन्त्रीले ती सबै प्रक्रियालाई बेवास्ता गरेको उनले बताए ।








