विदेशमा रहेका नेपालीलाई मताधिकार र सुशासन सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विदेशमा रहेका नेपाली नागरिकहरूलाई आगामी निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक अध्ययन र तयारी थाल्ने बताएका छन् ।

प्रतिनिधि सभामा आइतबार सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । सांसद महावीर पुनले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री साहले विदेशमा रहेका नेपालीहरूका लागि मतदानको दुई वटा विकल्पमा छलफल भइरहेको जानकारी दिए ।

यस विषयलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन प्रधानमन्त्रीले विज्ञान तथा सूचना प्रविधि मन्त्रीलाई आवश्यक व्यवस्थापन र अध्ययनका लागि निर्देशनसमेत दिएका छन् ।

सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका सुधारबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकारले वर्तमान वर्षलाई सुशासनको वर्षका रूपमा अगाडि बढाएको स्पष्ट पारे ।

उनले भने, ‘विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले मतदान गर्ने सन्दर्भमा दूतावासमै पुगेर वा मोबाइल एपमार्फत मतदान गर्ने दुई उपाय रहेका छन्। मोबाइलबाट मतदान गर्दा हुन सक्ने सम्भावित प्रभाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्वतन्त्र र निष्पक्ष मतदानको सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर छ ।’

प्रधानमन्त्री साहले मालपोत, कम्पनी रजिस्ट्रार, र यातायात (ब्लुबुक नवीकरण) जस्ता सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा विगतमा कायम बेथितिहरू क्रमशः हट्दै गएको दाबी गरे ।

सुशासनको अर्थ विकास र पूर्वाधार निर्माणलाई रोक्नु नभएको स्पष्ट पार्दै उनले शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

जनताले सुशासन र समृद्धिका लागि दिएको अभूतपूर्व जनमतको कदर गर्दै सरकारले आगामी दिनमा पनि पारदर्शी र जनउत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले सदनमा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =