अनुसन्धान मबाटै सुरु गर्नुस्, दूधको दूध पानीको पानी छुटाउनु पर्यो : निश्चल बस्नेत

काठमाडौँ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा अनुसन्धानको सुरुवात आफै गर्न आग्रह गरेका छन् ।
आज राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत जेनजी प्रदर्शन भड्काउन भूमिका खेलेको देखिएकाले चलचित्र निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।
सोही पश्चात् निश्चलले सामाजिक सञ्जाल फेसबुकमा मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये आफ्नो पनि नाम समावेश रहेको भन्दै अनुसन्धानको सुरुवात चाहिँ उनैबाट गर्न आग्रह गरेका हुन् ।
‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ। कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनुहोला। दूधको दूध पानी को पानी छुटाउनु पर्यो ।’ उनले लेखेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा तोडफोड र आगजनी गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई आरोपीहरूले ‘खरानी ग्याङ’ को ट्याग समेत दिएका थिए ।









