काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । समूह ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो ।

भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको शुरुवात गरेको थियो । चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो ।

समूह विजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ । यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ । भारतलाई सोझो सेटमा हराएमा किर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३–२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ ।

तीन खेलबाट नेपाल सात अंकसहित शिर्ष स्थानमा छ । समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ । माल्दिभ्स अंकविहिन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

यसअघि आज नै भएको खेलमा इरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =