सरकारी संस्थाहरूलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले मुलुकमा सुशासन कायम गर्न सूचना प्रविधि महत्त्वपूर्ण हुने भन्दै सबै सरकारी संस्थाहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।
सरकारले कागजी प्रक्रियालाई विस्थापित हुनेगरी काम गर्नुपर्ने उनीहरूको भनाइ छ । बैठकमा बोल्दै सांसद महावीर पुनले सरकारले सूचना प्रविधि क्षेत्रलाई अपेक्षित प्राथमिकता दिन नसकेको टिप्पणी गरे ।
उनले आम नागरिकले अनुभव गर्नेगरी सरकारले प्रविधि क्षेत्रमा काम गर्न नखोजेको टिप्पणी गरे । उनले आफू स्वयं प्रविधिसम्बन्धी समस्याबाट प्रभावित भएको उल्लेख गर्दै सरकारलाई यसतर्फ गम्भीर बन्न आग्रह गरे ।
उनले भने ‘सरकारले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेको देखिँदैन । सूचना प्रविधिको कारण म आफैँले धेरै दुःख पाएको छु । म आफैँ भुक्तभोगी हो । सरकारले ध्यान देओस् ।’
नेकपा (एमाले) का सांसद गुरु बरालले सामुदायिक विद्यालयहरूमा दक्ष शिक्षक अभावका कारण स्मार्ट क्लास सञ्चालन प्रभावकारी हुन नसकेको बताए । उनले विद्यालयहरूमा स्मार्ट बोर्ड र कम्प्युटर ल्याब भएपनि आवश्यक जनशक्ति तथा क्षमता अभावले ती उपकरण प्रयोगविहीन बनेको बताए ।
सांसद बरालले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकहरूका लागि आईटीफ्रेन्डली तालिम तथा कोर्ष आवश्यक रहेको पनि बताए । उनले शिक्षामा प्रविधिको प्रयोग विस्तार नगरे डिजिटल शिक्षाको लक्ष्य पूरा हुन नसक्ने समेत बताए ।
उनले भने ‘सामुदायिक विद्यालयहरूमा योग्य शिक्षक नभएको कारण हामीले कयौँ ठाउँमा डेलिभरी दिनको लागि स्मार्ट क्लासहरूको प्रयोग गर्नुपर्छ । कयौँ विद्यालयहरूमा स्मार्टबोर्ड छ । तर त्यसको प्रयोग हुन नसकेर स्मार्ट बोर्डहरू अलपत्र परेको अवस्था छ । कयौँ विद्यालयहरूमा कम्प्युटर ल्याबहरू छन् तर तिनीहरूको प्रयोग गर्न सकिएको अवस्था छैन । त्यसकारण त्यहाँ क्षमता र मानवीय जनशक्तिको कुरा आउँछ । विद्यालय सुधार गर्नको लागि शिक्षकहरूको लागि समेत आइटी फ्रेण्डली कोर्षको आवश्यकता छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले सार्वजनिक सेवा प्रदान गर्ने सबै निकायहरूलाई प्रविधिमैत्री बनाउनुका साथै विद्यालय तथा विश्वविद्यालयहरूमा प्राविधिक शिक्षाको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे ।








