दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

काठमाडाैं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराए ।

उनले नाफाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई निर्देशन दिए । जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न उनले चालक तथा यात्री दुवैलाई अपिल गरे ।

एआईजी कार्कीले यातायात क्षेत्रको सुधारका लागि भएका प्रयासहरूको चर्चा गर्दै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिको अन्त्य हुनु सकारात्मक भएको बताए । उनले बसपार्कभित्र आवश्यक न्युनतम पूर्वाधारको व्यवस्थापन भइसकेको जानकारी दिँदै ट्राफिक नियमको पालनामा निरन्तरता दिन आग्रह गरे ।

यातायात क्षेत्रमा हुने विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोगमा जोड दिँदै कार्कीले हालसम्म ४ सय भन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको जानकारी दिए । यसबाट सवारी दुर्घटनाको सही पहिचान हुने र न्याय प्राप्तिमा सहज हुने उनको विश्वास छ ।

साथै, अनलाइन टिकिटिङ र यात्रीको सामानको सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा लागू गर्न उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अहिले प्रविधिको विकासले मौसमको जानकारी ठ्याक्कै मिल्न थालेको छ, तर हामी त्यसलाई पालना गर्दैनौँ । पूर्वानुमानलाई स्वीकार गरी सोही अनुसार यात्राको योजना बनाउने हो भने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । प्रहरीले रोक्दारोक्दै पनि जोखिम मोलेर अघि बढ्ने र समस्यामा परेपछि उद्धार भएन भन्ने दोहोरो मापदण्डले थप जटिलता ल्याएको छ, आफ्नो सुरक्षामा आफैँ बढी सजग हुनुपर्छ ।’

विगतका वर्षहरूमा जस्तो बाढी र पहिरोका कारण सवारी साधन र यात्री बेपत्ता हुने दुःखद् घटना यो वर्ष दोहोरिन नदिन सबै पक्षबीच सहकार्य हुनुपर्नेमा एआईजी कार्कीले जोड दिए । – न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =