एआई नियमन गर्ने कानुन बनाउने अष्ट्रेलियाको घोषणा

काठमाडौं । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा, अल्बनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए । एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबिच छलफल हुने जनाइएको छ ।

अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उनले अस्ट्रेलियाको सन्दर्भमा एआईलाई नियमन गर्ने चुनौती अझै ठुलो भएको बताए ।

अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अष्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको यस्तो घोषणा आएको हो ।

यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउँदै यस्ता कार्यहरु गैह्रकानुनी भएको बताए ।

सरकारी तथ्याङ्कअनुसार मार्चसम्मका तीन महिनामा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानी सबैभन्दा ठुलो योगदान भएको जनाइएको छ । अल्बनिजले सरकारले अष्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताए । सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालयसहित एआई प्रति आफ्नो प्रतिक्रिया अगाडी बढाउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =