ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नागरिकता सुनिश्चित गर्न माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले यस्तो माग राखेका हुन् ।

सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए ।

सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको सन्दर्भमा संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नागरिकता कायम राख्ने व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु ।’

सांसद लिम्बूले वर्षौँदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकहरूको समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल गर्न समेत आग्रह गरेका छन् । उनले बेलायत सरकारसँगको वार्ता र कूटनीतिक संवादमा सरकार बढी सक्रिय हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =