सरकारले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्नुपर्दछ- डा. तोसिमा कार्की

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त माग गरेकी हुन् ।
सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाई थियो । उनले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रूपमा असफल भएको हुने तथ्य पनि उल्लेख गरिन् ।
सांसद कार्कीले भनिन् ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ । तर आफ्ना नागरिकलाई सडकबाट मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ । अघिल्ला सरकारले के गरे, कसो गरे ? कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठुलो आशा गरेका छन् । अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन । त्यसैले अव हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई । तपाईँहरूले कोभिडको खोप त लगाउनु भयो । तर दिनहुँ सडकमा भई रहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ । हामी दिन्छौँ । हामीले यो भन्न सक्नु पर्दछ । त्यसैले म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौ भने भविष्यमा हुने ठुलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौँ ।’
सांसद कार्कीले वर्तमान सरकारसँग नागरिकको आशा र भरोसाबाट पन्छिने छुट नभएको पनि बताइन् ।








