किसानले १५ दिनभित्र भुक्तानी अनिवार्य रूपमा पाउने गरी कानुनी व्यवस्था गरियोस्: लिमा अधिकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दूध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेस गर्दै सरकारसँग उक्त माग गरेका हुन् ।
सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिचकिचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताए । उनले किसानले समयमा आफ्नो वस्तुहरूको उचित मूल्य नपाउँदा युवाहरू उर्वर भूमि छोडेर बिदेसिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने ‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँसुले माटो भिजिरहेको छ । मकवानपुरका दूध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकी छ । यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय । देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसानहरूको यो साझा समस्या हो । जब एउटा किसानले आफ्नो पसिनाको मूल्य पाउन महिनौँ, वर्षौँ कुर्नुपर्छ । तब उसले गाईभैसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान् युवाहरू आफ्नो उर्वर जमिनलाई बाँझो छाडेर खाडीको मरुभूमि रोज्न बाध्य छन् सभामुख महोदय । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापि ल्याउन सकिँदैन । मुलुकमा खाद्यान्न मात्रै होइन सभामुख महोदय । खाद्य आत्मनिर्भरता चाहिएको छ । अत म सरकारसँग माग गर्दछु–किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्यौट गर्ने कानुनी ग्यारेन्टी गरियोस् ।’
सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।








