जेनजी आन्दोलनमा सवारी साधन जलेकाले आपत्कालीन उद्धारमा समस्या भयो: सांसद चौधरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठुलो क्षति व्यहोर्नुपरेको बताए । आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उनले उल्लेख गरे ।

दमकल नहुँदा आगलागीका समयमा नागरिकहरू भगवान् पुकार्नुपर्ने निरीह अवस्थामा पुगेको उनको भनाइ थियो । सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा दमकलसहित करिब १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनहरू जलेको जानकारी दिँदै ती साधनहरूको बिमा नगरिएकोमा कडा आपत्ति जनाए ।

जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बिमा नगराउनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उल्लेख गर्दै उनले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।

सांसद चौधरीले भने ‘जेनजी आन्दोलन पश्चात् इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीन वटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो, सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’

उनले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन उपकरणहरू उपलब्ध गराई सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =