‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानून कार्यान्वयनको अवस्था कमजोर’

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बनेका कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

बुधबार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी शिक्षा प्रवर्द्धनका लागि भएको समन्वय बैठकमा मन्त्रालयकी उपसचिव रमा खतिवडाले विद्यमान कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको बताइन् ।

उनले नयाँ कानुन निर्माणभन्दा पनि हाल कायम रहेका कानुनी तथा नीतिगत व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको धारणा राखिन् । भएका कानुनी व्यवस्थाको कार्यान्वयनबारे अझै गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो ।

खतिवडाले अपाङ्गताको प्रकृति, उमेर समूह र भौगोलिक अवस्थाअनुसार वर्गीकृत तथ्यांकको अभाव रहेको उल्लेख गरिन् । यस्तो तथ्यांकबिना राज्यले वर्तमान अवस्था मूल्यांकन गर्न र आगामी नीतिगत दिशा तय गर्न नसक्ने उनले बताइन् ।

उनले अपाङ्गतासम्बन्धी समग्र तथ्यांक उपलब्ध भए पनि वर्गीकृत तथ्यांकको कमीका कारण नीति निर्माण र कार्यान्वयनमा समस्या भइरहेको उल्लेख गरिन् । अपाङ्गताको प्रकृति, उमेर तथा स्थानका आधारमा तथ्यांक संकलन गरी त्यसअनुसार नीति तथा कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =