मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै हर्क राईद्वारा ध्यानाकर्षण: नियमावली पालना गर्न माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय सदस्य हर्कराज राईले सरकार संसदप्रति जबाफदेही नभएको भन्दै प्रतिनिधि सभामा गम्भीर आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले मन्त्रीहरूको सदनमा अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष राईले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ को पालना नभएकोतर्फ सभामुखको ध्यान आकृष्ट गराए । उक्त नियमावली अनुसार सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रावधान भएपनि महिनौँदेखि सोधिएका प्रश्नहरू अनुत्तरित रहेको उनले बताए ।

सरकारको यो कार्यले संसदीय मर्यादामाथि नै प्रश्न उठाएको उनको तर्क थियो । उनले सरकार जनता र संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मन्त्रीहरू आफ्नो कर्तव्यबाट भागिरहेको आरोप लगाए । जनताको मत जितेर आएका प्रतिनिधिहरूको प्रश्नको सामना गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उनले मन्त्रीहरूलाई सदनमा उपस्थित गराउन सभामुखसँग कडा रुलिङको माग समेत गरे ।

राईले भने ‘हामीले व्यक्तिगत स्वार्थका लागि नभई जनताका साझा समस्याहरू सदनमा उठाएका हौँ । सीमा विवाद, महँगी नियन्त्रण, सहकारी पीडितको बचत फिर्ताको स्रोत र सुकुम्वासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्छ । तर, नीति तथा कार्यक्रम र अन्य महत्त्वपूर्ण छलफलमा समेत सम्बन्धित मन्त्रीहरू अनुपस्थित हुनु खेदजनक छ ।’

संसदीय मर्यादा कायम राख्न र मन्त्रिपरिषद्का सदस्यहरूलाई प्रश्नोत्तर सत्रमा अनिवार्य सहभागी गराउन राईले जोडदार माग गरेका छन् । मन्त्रीहरू स्वयं उपस्थित नभई अन्य प्रतिनिधि पठाइनुले नियमावलीको ठाडो उल्लङ्घन भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =