‘भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने’

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ ।
मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
कृषि, वन तथा वातावरण मन्त्रालयको मल खरिद मामिला हेर्ने कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा भएको अवरोधका कारण आयात हुन नसकेको जानकारी दिए । यद्यपि यही जेठदेखि भदौसम्मको धान रोपाइँ सिजनमा मलको अभाव नहुने मन्त्रालयको आङ्कलन रहेको उनको भनाइ छ ।
उनकाअनुसार नेपालमा धान सिजनको पाँच महिनामै वार्षिक कुल मलको ४५ प्रतिशत मल खपत हुने गरेको छ । धान रोपाइँको सिजनमा करिब २ लाख ४५ हजार टन मल आवश्यक पर्ने अनुमान गरिएको उनको भनाइ छ । उनले हाल मौज्दातमा रहेको मलले धान रोपाइँ सिजनसम्म धान्नसक्ने बताए । उनले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि २ लाख ५० हजार टन रासायनिक मल खरिद प्रक्रिया अघि बढिसकेको समेत जानकारी दिए ।
उनले अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएपछि टेण्डर आह्वान गरिएकोमा १ लाख ८७ हजार टन मल आपूर्तिको सम्झौता भइसकेको जानकारी दिए । महाशाखा प्रमुख श्रेष्ठले विश्व बजारमै रासायनिक मलको उत्पादन र उपलब्धता घट्दा मूल्य समेत बढेको बताए । उनले रासायनिक मलको आपूर्ति प्रभावित भएपनि सम्झौता गरिएका सप्लायरहरूसँग वैकल्पिक ढुवानी तथा आपूर्ति व्यवस्थाबारे छलफल भइरहेको बताए ।
श्रेष्ठले भने ‘अर्थ मन्त्रालयमार्फत स्रोत सहमति पाएको अगामी आर्थिक वर्ष २०८३/०८४ को २ लाख ५० हजार टन रासायनिक मलको हामीले टेण्डर गर्यौँ । त्यसमध्ये अहिलेसम्म १ खाल ८७ हजार टन मलको सम्झौता भइसकेको छ । र चालु आर्थिक वर्षको सम्झौता भइसकेको करिब ९५ हजार टन रासायनिक मल आउन सकेको छैन । अहिले पश्चिम एसियाको तनावको कारण विश्वव्यापी रूपमा रासायनिक मलको उपलब्धता पनि कम भएको छ । उत्पादन पनि कम भएको छ । त्यसको कारणले गर्दाखेरि बजारमा मलको मूल्य समेत बढेको छ । स्टेट अफ हर्मुजमा अहिले जुन खालको अवरोध भएको छ । त्यो अवरोधको कारणले गर्दा हाम्रो पनि सम्झौता भएर आउन लागेको मल पनि त्यहाँ रोकिएको अवस्था छ । अहिलेको माग र आवश्यकताको हिसाबले आउने धान सिजनको ५ महिनामा मात्रै कुल मलको करिब ४५ प्रतिशत खमल खपत हुने हाम्रो विगतको अनुभव छ । यो अवधिमा हामीलाई करिब २ लाख ४५ हजार छन् मल आवश्यक हुन्छ । अहिले हामीसँग उपलब्ध मलले धान रोपाइँको सिजनसम्ममा हामीलाई सहयोग गर्छ भन्ने हाम्रो आङ्कलन छ । त्यसपछिको अवस्थाको लागि चालु आर्थिक वर्ष र अगामी आर्थिक वर्षको लागि सम्झौता भएको मल आयात प्रभावित हुने देखिएको छ । पश्चिम एसियामा बढेको तनावले गर्दा मल आपूर्तिमा समस्या आएको छ । त्यसका बाबजुद पनि सम्झौता भइसकेका सप्लायरहरु सँग कुरा गरेर ल्याउने विकल्प खोजेका छौँ । यद्यपि समस्याहरू छन् । यद्यपि अहिले हामी ५ लाख टन बढी मल नेपाल ल्याएर चालु आर्थिक वर्षमा वितरण गरिसकेको अवस्था छ ।’
उनले खरिदका लागि टेण्डर भएपछि नेपालमा मल आइपुग्न औसतमा दुई सय २५ दिनसम्म लाग्ने गरेको कारण साउनमा बजेट स्वीकृत भएपछि मल किन्दा माघ फागुनतिर नेपाल आइपुग्ने अवस्था रहेको समेत बताए ।
उनले सम्झौता गरिएको मल भदौसम्म पनि आयात हुन नसके नेपालको लागि चिन्ताको विषय बन्नसक्ने बताए । उनले रासायनिक मलको अभाव हुन नदिन भारतसँग समेत छलफल भइरहेको बताए । कृषि गणना २०७८ अनुसार नेपालमा धान लगाउने कृषक परिवारमध्ये ७६ प्रतिशतले धानबालीमा रासायनिक मलको प्रयोग गरेका छन् । जसकारण रोपाइँको समयमा बर्सेनि नेपालमा रासायनिक मलको अभाव हुने गरेको छ ।








