आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरूले आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विपक्ष दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएका राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रलाई नै आधार बनाएर सरकारले आफ्नो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्ष दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताए ।
उनले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार अघि बढिरहेको जिकिर पनि गरे ।
उनले भने ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनकि हामीले निर्वाचन लड्नु भन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्नेकुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनका लागि अर्को चुनाव चाँकी कुर्नुपर्ला ।’
अर्थमन्त्री वाग्लेले सरकारले शासकीय सुधारका मार्गचित्र पनि जनताको भावनाअनुसार अघि बढाएको पनि बताए ।








