सरकारले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अवलम्बन गर्नुपर्छ: सांसद अधिकारी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्न सरकारलाई सुझाव दिएकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले अति आवश्यक कृषिजन्य वस्तुहरूको पहिचान गरी सरकारले आत्मनिर्भरका लागि समयबद्ध योजना बनाउन पनि आवश्यक रहेको बताए ।

सरकारले आगामी बजेटमा कृषि पर्यटन, रासायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई प्राथमिकतामा राख्नपर्ने सांसद अधिकारीको भनाई थियो । उनले मुलुकमा ठुलो समस्याको रूपमा रहेको बेरोजगारी समस्या समाधानका लागि सरकारले उत्पादनमूलक उद्योगमा जोड दिनुपर्ने बताए ।

उनले भने ‘कृषि क्षेत्रमा नेपालले अअअ अर्थात् अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्नु पर्दछ । चामल, दाल, दूधजन्य वस्तु, माछामाशु, तरकारी, फलफूलजस्ता आधारभूत खाद्यवस्तु पहिचान गरी आत्मनिर्भरताको समय वद्ध तालिका तोक्नु पर्दछ । यसको लक्ष्य पनि तोकिनु पर्दछ । आजको विश्व भूराजनीतिक अवस्थामा कृषि उत्पादन केवल खाद्यान्न मात्र होइन सभामुख महोदय । राष्ट्रिय खाद्य सुरक्षाको विषय बनेको छ । यो गम्भीर प्रश्न पनि बनेको छ । त्यसैले कृषि क्षेत्रको विस्तारका लागि एग्रो पुलिङ एग्रिकल्चनर सेन्टर एक्सलेन्स सिजनल टयारिफ, कृषि पर्यटन, रासायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई बजेटले प्राथमिकतामा राख्नु पर्दछ । आजको सबै भन्दा ठुलो समस्या भनेको बेरोजगारीको समस्या हो । रोजगारी सृजनाको प्रमुख आधार नै उत्पादनमूलक उद्योगहरू हो । तर उत्पादनमूलक उद्योगहरू हेर्नुहुन्छ भने जिडिपीमा यसको योगदान अत्यन्तै न्यून छ । अर्थात् ५ दशमलव ७२ प्रतिशत मात्र उद्योगहरू छन् । औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सेजले अपेक्षित रूपमा काम गर्न सकिरहेको छैन । तसर्थ यी संस्थाहरूको पनि रिइन्जिनियरिङ गरियोस् भन्ने अर्थमन्त्रीज्यूलाई निवेदन गर्न पनि चाहन्छु ।’

सांसद अधिकारीले विशेष आर्थिक क्षेत्रलाई सरकारले पुनर्संरचना गरी अघि बढाउन पनि आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =