उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैन: एमाले सांसद पोर्तेल

काठमाडौँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले उद्योगधन्दामा आगो लगाएर लगानीमैत्री वातावरण नबन्ने बताएका हुन् ।
उनले लगानीमैत्री वातावरण र निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापना गर्ने सरकारले दाबी गरेपनि उद्योगी व्यवसायीलाई सनकको भरमा समातेर थुन्दै गर्दा निजी क्षेत्रको आत्मविश्वास नफर्किने बताए । उनले खरानी बनाइएका उद्योगधन्दा र निजी सम्पत्तिको क्षतिपूर्ति सरकारले गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नसमेत उठाए ।
उनले सरकारको आर्थिक नीति, वित्तीय संघीयताबारेमा पनि स्पष्टता नरहेको उल्लेख गरे । सरकारले अर्थतन्त्रको पुनः संरचना गर्ने दाबी गरेपनि त्यसको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको उनको भनाई छ । उनले प्रदेश र स्थानीय तहलाई स्रोत वितरण गर्ने मापदण्ड स्पष्ट नआएको उल्लेख गर्दै स्थानीय तहको राजस्व क्षमता अभिवृद्धि सरकारको प्राथमिकतामा नरहेको बताए ।
उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्वर्गको ठेगाना उल्लेख गरिएको भएपनि त्यहाँ पुग्ने बाटो नदेखाइएको टिप्पणी गरे । नर्कको बाटोतर्फ पाइला चालेर हातमा बोकेको स्वर्गको ठेगानामा पुग्न नसकिने उनको भनाई छ । उनले सरकारलाई यथार्थपरक नीति ल्याउन आग्रह गरे ।
उनले भने ‘सरकारले अर्थतन्त्रको पुनर्संरचनाको गर्ने भनेको छ । सरकारको वित्तीय संघियताको मार्गचित्र के हो रु प्रदेश र स्थानीय तहलाई स्रोत वितरणको मापदण्ड के हो ? प्रदेश र स्थानीय तहको राजस्वको क्षमता विकास गर्ने यो सरकारको कार्ययोजनाको प्राथमिकताभित्र पर्छ कि पर्दैन ? सरकारलाई सोध्न चाहन्छु । सरकारले लगानीमैत्री आर्थिक वातावरण तयार गर्ने, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्ने कुरा गरेको छ । मान्छेहरूले भन्ने गर्छन्, खराने ग्याङका सदस्य नै अहिले सत्तामा छन्, ती मान्छेहरूले भनेको कुरा सत्य हो की होइन, मलाई थाहा छैन । नागरिकले प्रश्न गरेपछि प्रस्ट पार्ने जिम्मा सरकारको हो, म त्यतातिर जान चाहन्न । तर यति मात्रै भन्न चाहन्छु, उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैन । उद्योगी व्यवसायीलाई सनकको भरमा समाउँदै थुन्दै गरेर निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित हुँदैन । सरकारलाई सोध्न चाहन्छु खरानी बनाइएका उद्योगधन्दा र नागरिकको निजी सम्पत्तिको क्षतिपूर्ति गर्ने जिम्मेवारी सरकारको हो की होइन ?’
उनले विनियोजना विधेयकमा संविधानको समाजवादउन्मुख अर्थतन्त्र, समावेशी विकास, आर्थिक समानता र सामाजिक न्यायका मूल सिद्धान्तसँग मेल नखाने दाबी गरे । साथै, सुशासनका नाममा सरकारले विवेकसम्मत शासनको नयाँ अभ्यास गरिरहेको टिप्पणी गर्दै नागरिकको छाप्रोमाथि डोजर चलाएर सरकारको विवेकसम्बत शासन कस्तो हुन्छ भन्ने देखाएको उल्लेख गरे ।








