स्यानिटरी प्याडमा कर हटाउन र हानिकारक वस्तुमा ‘सिन ट्याक्स’ बढाउन सांसद यादवको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको बताएका हुन् ।
उनले महिनावारीको समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको मौलिक हक र सम्मानको विषय भएको उल्लेख गरे । सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाए । उनले महिनावारीलाई राजश्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार नराख्ने टिप्पणी गरे ।
सांसद यादवले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरा जस्ता पदार्थमा ‘सिन ट्याक्स’ थप वृद्धि गर्न सुझाव दिँदै महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याडमा कर लगाइरहनु राज्यको असंवेदनशीलताको प्रतीक भएको बताए ।
सांसद यादवले भने ‘एकातिर महिला सशक्तीकरण र लैंगिक समानताका ठुला भाषण गर्ने, अर्कोतिर स्यानिटरी प्याड जस्तो आधारभूत आवश्यकताका सामग्रीमा कर लगाउने कार्य सामाजिक न्यायको सिद्धान्त विपरीत छ । यो केवल आर्थिक मुद्दा मात्र होइन, यो महिलाको प्रतिष्ठा, स्वास्थ्य र समान अवसरको प्रश्न पनि हो ।’
स्यानिटरी प्याडमा लाग्दै आएको कर पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग गरे ।








