मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाहरूको जोड

काठमाडौँ। मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहकोमा सरोकारवालाहरूले जोड दिएका छन् । सरकार, रोजगारदाता, जेटीयुसीसी र आइएलओद्धारा संयुक्त रूपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरोकारवालाहरूले सो धारणा राखेका हुन् ।

सो बैठकले सन् २०२३–२०२७ को मर्यादित कामसम्बन्धी राष्ट्रिय कार्यक्रम’ को प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमा समेत छलफल गरेको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मर्यादित काम, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

आईएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानले सहकार्यबाटै श्रमका मुद्धाहरु सम्बोधन गर्न सकिने धारणा राख्दै यस क्षेत्रमा काम गर्दा सही तथ्याङ्कमा जोड दिनु पर्ने बताएका छन् ।

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको आर्थिक विकास र उत्पादनशीलता वृद्धिका लागि सरकार, रोजगारदाता र श्रमिकबिचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताए ।

श्रमिक कल्याण र महिला सशक्तीकरणमा विशेष पहल अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको साझेदारीमा महासङ्घले गरिरहेका कार्यहरूबारे प्रकाश पार्दै पाण्डेले चिया र अलैँची क्षेत्रमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य निर्देशिका कार्यान्वयनमा ल्याइएको तथा महिला उद्यमीहरूलाई सहयोग गर्न ’महिला उद्यमशीलता सहायता कक्ष सञ्चालन गरिएको र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा बहु उद्देश्य स्याहार केन्द्रहरूको पाइलटिङमा ल्याएको बारे जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार र आइएलो सँगको सहकार्यमा मर्यादित काम र समावेशी विकासका क्षेत्रमा काम गरिरहेको छ । यसले महिला र युवा जस्ता लक्षित समूहलाई अर्थतन्त्रको मूलधारमा ल्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =