वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी । वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु ८० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका उनी चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिएका हुन् ।
“सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उनले भने । केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार गर्थे ।
समयसँगै व्यापारको स्वरूप फेरिँदै अहिले चतराघाट पेडा पसलका लागि परिचित बन्दै गएको छ । विक्रम संवत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्ग प्रयोगमा आयो ।
त्यसयता यस क्षेत्रमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको साह बताउँछन् । यात्रुको चहलपहल बढेसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ । अहिले उनको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुले पेडा किन्ने गरेका छन्।
अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको र डेलिभरीको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । दैनिक १२० लिटरभन्दा बढी दूधबाट पेडा उत्पादन गर्छन् । उनले उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध खरिद गरी पेडा बनाउने गरेको बताए ।
“विदेशमा १२ घण्टा काम गर्दा मुस्किलले रु ४० देखि ४५ हजार कमाइ हुन्थ्यो,” उनले भने, “अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर काम गर्दा मासिक रु ७० देखि ८० हजारसम्म आम्दानी हुन्छ । आफ्नै गाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”
हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन् । कोशी पुल निर्माणपछि बढेको सर्वसाधारणको आवागमनसँगै चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।








