सुकुम्बासी बस्ती हटाउनुअघि वैकल्पिक व्यवस्था गर्न सांसद चौधरीको माग

काठमाडौं । नेकपा (एमाले)की सांसद पूजा चौधरीले सुकुम्बासी बस्ती हटाउनुअघि प्रभावित परिवारका लागि उचित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद चौधरीले काठमाडौं उपत्यकाका सुकुम्बासीहरूको अवस्था अत्यन्त अव्यवस्थित बनेको बताइन् । उनले खानपान, पिउने पानी तथा बालबालिकाको शिक्षासमेत प्रभावित भएको भन्दै तत्काल मानवीय व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले सुकुम्बासी बस्ती हटाउने क्रममा बालबालिका र अभिभावक छुट्टाछुट्टै स्थानमा बस्न बाध्य भएको तथा बालबालिकाको विद्यालय शिक्षा अन्योलमा परेको बताइन् ।

चौधरीले भनिन्, “सुकुम्बासीहरूको अवस्था अस्तव्यस्त छ। न राम्रो खानाको व्यवस्था छ, न पिउने पानीको नै उचित व्यवस्था छ। बालबच्चा कतै बसिरहेका छन् भने आमाबुबा कतै । कहिलेदेखि स्कूल जाने भन्ने विषयमा पनि अझै अन्योल छ ।”

उनले सरकारलाई बाँकी रहेका सुकुम्बासी बस्ती भत्काउनुअघि प्रभावित परिवारको बसोबास, शिक्षा र आधारभूत आवश्यकताको उचित व्यवस्था गर्न आग्रह गरिन् ।

सांसद चौधरीले सुकुम्बासी समस्या समाधान गर्ने नाममा भूमिहीन र विपन्न नागरिकलाई थप पीडा नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =