ऊर्जा क्षेत्रले नेपाललाई समृद्धितर्फ लैजान सक्छः डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने सबैभन्दा बलियो र भरपर्दो आधार भएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलस्रोत, घाम र हावाबाट नेपालले ठूलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे । निजी क्षेत्रले ऊर्जा उत्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उनको भनाइ थियो ।
डाँगीका अनुसार २०५५ सालमा देशको विद्युत उत्पादन क्षमता २५४ मेगावाट मात्रै रहेकोमा अहिले त्यो बढेर ४३०० मेगावाट पुगेको छ। त्यसमध्ये करिब ३५०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिसकेको उनले बताए ।
उनले ऊर्जा क्षेत्रप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै सरकारले विद्युत व्यापार र प्रसारण लाइन विस्तार गर्न नसक्ने भन्ने आशंका आवश्यक नभएको बताए।
डाँगीले भने, “ऊर्जा क्षेत्र नै यस्तो क्षेत्र हो, जसले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्छ। हामीले त्यो व्यवहारमै प्रमाणित गरिसकेका छौं । २५४ मेगावाटबाट आज ४३०० मेगावाटमा पुग्नु सामान्य उपलब्धि होइन ।”
उनका अनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ । अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल भइरहेको उनले जानकारी दिए ।
ऊर्जा क्षेत्रका सकारात्मक सम्भावना र उपलब्धिलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सञ्चार माध्यम र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि उनले बताए ।
डाँगीले ऊर्जा क्षेत्रका नकारात्मक पक्षभन्दा उपलब्धि र सम्भावनामा केन्द्रित हुन आग्रह गर्दै जलस्रोत र ऊर्जा क्षेत्र नै नेपालको आर्थिक समृद्धिको प्रमुख आधार भएको उल्लेख गरे। साथै सरकारले पनि यो क्षेत्रलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो ।








