कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविक : व्यवसायी शर्मा

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा सोमवार बिहान १० बजे काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा थिए ।

निर्माण कम्पनी–शर्मा एण्ड कम्पनीका सञ्चालक रहेका उनलाई त्यही बेला उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरीको टोली लिन आयो र भन्यो, ‘तपाईंलाई लिएर आउनू भन्ने मन्त्रीको आदेश छ । शहरी विकास मन्त्रालयमा जानुपर्‍यो ।’

शर्माले प्रहरीको आग्रह मान्दै सिंहदरबार गए । कार्यालयमै प्रहरी पुगेर शर्मा पक्राउ परेको खबर एकएक फैलियो । जसकारण निर्माण व्यवसायी वृत्तमा एकाएक तरंग फैलियो । शर्मा र अर्का निर्माण व्यवसायी पीताम्बर बडूलाई ‘पक्राउ गरिएको’ समाचार बाहिरिए ।

घटनाबारे प्रतिक्रिया दिँदै निर्माण व्यवसायी रमेश शर्माले आफूलाई पक्राउको शैलीमा नभई ‘मिटिङका लागि’ मन्त्रालय लगिएको दाबी गरे । उनकाअनुसार केही फोनको जवाफ नदिएको भन्दै प्रहरी टोली कार्यालय पुगेको थियो ।

‘मलाई केही फोनहरू आउँदा रेस्पोन्स हुन सकेनछ । त्यसपछि ‘मिटिङमा लिन आएको’ भनेर लगियो र शहरी विकास मन्त्रालयमा ह्यान्डओभर गरियो,’ शर्माले भने ।

उनले प्रहरी टोलीले सभ्य व्यवहार गरेको दाबी गरे पनि कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वाभाविक भएको बताए ।

‘पहिला मैले पुर्जी–सुर्जी के छ भनेर सोधेँ । उनीहरूले ‘मन्त्रालयमा ह्यान्डओभर मात्रै हो’ भने,’ उनले भने ।

शर्माकाअनुसार उक्त दिनको मुख्य छलफल नौबिसे–मुग्लिन सडक आयोजनाबारे छलफल भयो । बैठकमा निर्माण सामग्रीको अभाव, डिजेल र बिटुमिनको मूल्यवृद्धि तथा नदीजन्य सामग्री उत्खननमा देखिएका समस्याबारे सरकारसँग छलफल भएको उनले बताए । हाल बिटुमिन आयातमा समस्या रहेको र मूल्य अत्यधिक बढेको शर्माले बताए ।

‘मुख्य छलफल नौबिसे–मुग्लिन सडकबारे भएको थियो । हामीले पनि त्यहाँका समस्याबारे कुरा राखे । अहिले त्यो क्षेत्रमा स्थानीय सामग्री उठाउन पाइएको छैन । विशेषगरी नदी दोहन रोक्ने लगायतका विषयका कारण समस्या भएको छ । नियमअनुसार ईआईए गरेर, सरकारी राजस्व तिरेर अन्य क्रसर उद्योगले सामग्री उठाउन पाउँछन् भने हामीले पनि त्यो अवसर पाउनुप¥यो भन्ने कुरा राखेँ,’ उनले भने ।

भने, ‘अहिले नेपालमा बिटुमिन ल्याउन निकै गाह्रो भएको छ । मैले सरकारलाई जी–टु–जी माध्यमबाट भए पनि बिटुमिन आयातलाई केही सहज बनाइदिन आग्रह गरे । अहिले अत्यधिक मूल्यवृद्धि भएको छ । गल्फ वारभन्दा अघि बिटुमिनको मूल्य ८५–९० थियो भने अहिले १९० पुगेको छ । त्यस्तै डिजेल १३५–१३७ बाट २३७ रुपैँया पुगेको छ । यी दुवैको प्रभावले निर्माण व्यवसायीहरू पनि नडुबून् र देशको पूर्वाधार निर्माण पनि नरोकियोस् भन्ने कुरा रह्यो ।’

शर्माले निर्माण व्यवसायी महासंघले सरकारसँग संयुक्त रूपमा समाधान खोज्न आग्रह गरेको बताउँदा सरकारले नसुनेको बताउँदै प्रहरी लगाएर व्यवसायी उठाएर लैजानु गलत भएको बताउछन् ।

उनकाअनुसार सरकारले पनि विकास निर्माणको काम छिटो अघि बढाउन व्यवसायीहरूसँग सहकार्य चाहेको सोमबारको छलफलमा सन्देश दिएको थियो ।

सरकारको ढुकढुकी पूर्वाधार समयमा बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै शर्माले त्यसमा होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।

सरकारले पक्राउ गरेर हिरासतमा राखेको भन्ने हल्ला फैलिएका बेला शर्माले भने त्यसलाई इन्कार गरेका छन् । उनले आफूलाई हिरासतमा नराखिएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =