युवाको भाषा बोल्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर बन्यो: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले आजका युवाको भाषा बोल्न छाडेको तथा उनीहरूको समृद्धिको आकाङ्क्षालाई राजनीतिक रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।
सोमबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता पाण्डेले माक्र्सवादको वर्गीय विश्लेषण आज पनि सान्दर्भिक रहेको बताएका हुन् ।
उनले कतारको मरुभूमिमा श्रम गरिरहेका नेपाली कामदारदेखि काठमाडौंमा विदेशी कम्पनीका लागि कोड लेखिरहेका युवासम्म आफ्नो श्रम बेच्न बाध्य रहेको र शोषणको अवस्था अझै कायम रहेको उल्लेख गरेका छन् ।
तर, आफूले उठाएको मुख्य प्रश्न सैद्धान्तिक नभई राजनीतिक र साङ्गठनिक भएको पाण्डेको भनाइ छ । उनका अनुसार लाखौँ असुरक्षित, निराश र भविष्यप्रति अन्योलमा रहेका नेपालीहरू कम्युनिस्ट पार्टीहरूको सामाजिक आधार भए पनि उनीहरू पार्टीसँग भावनात्मक रूपमा जोडिन सकेका छैनन् ।
‘समस्या विचारधारामा होइन, हाम्रो भाषामा छ,’ पाण्डेले लेखेका छन्, ‘हामीले युवाको दैनिक अनुभव, असुरक्षा, आकाङ्क्षा र डिजिटल जीवनसँग संवाद गर्न छाड्यौँ ।’
उनले युवालाई केवल ‘शोषित’ भनेर सम्बोधन गर्नु पर्याप्त नहुने उल्लेख गर्दै उनीहरूको समृद्धि र सफलताको सपनालाई राजनीतिक रूपमा प्रतिनिधित्व गर्न नसकिएको स्वीकार गरेका छन् ।
मोबाइल डेमोक्रेसीबारे आफूले उठाएको बहस माक्र्सवादको विकल्प नभई डिजिटल समाजको बदलिँदो राजनीतिक यथार्थ बुझ्ने प्रयास भएको उनको तर्क छ ।
पाण्डेले पुरानै सङ्गठनात्मक संरचना, भाषा र राजनीतिक शैलीका कारण जनता र पार्टीबीच दूरी बढिरहेको उल्लेख गर्दै अहिले सैद्धान्तिक स्पष्टतासँगै साङ्गठनिक तथा राजनीतिक कल्पनाशीलताको आवश्यकता रहेको बताएका छन् ।
उनले फेसबुक स्टाटसमा सबै वैचारिक पक्ष समेट्न नसकिने भन्दै पार्टी र सार्वजनिक फोरममा बहसलाई अझ अगाडि बढाउने संकेतसमेत गरेका छन् ।








