‘सरकारले सुकुम्बासीमाथि डोजर आतंक मच्चायो, कांग्रेसले प्रतिकार गर्छ’

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै विरोध गरेका छन् ।

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यताविपरीत रहेको बताएका हुन् ।

नेता आङदेम्बेले सुकुम्वासी बस्ती हटाउने नाममा राज्यले जनतालाई मर्न बाध्य पारेको भन्दै चिन्ता व्यक्त गरे । वास्तविक सुकुम्बासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनले उल्लेख गरे ।

राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिँदै उहाँले यसको जिम्मेवार सरकार नै हुनुपर्ने बताए । नेता आङदेम्बेले सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनियत’ प्रष्ट भएको टिप्पणी गरे ।

संसद अधिवेशनको मिति पटक–पटक सार्ने र हठात आह्वान गर्ने कार्यले जनभावनाको अपमान गरेको उनको ठहर छ । सरकारका जनविरोधी निर्णयका विरुद्ध संसदमा रहेका अन्य विपक्षी दलहरूसँग पनि समन्वय भइरहेको नेता आङदेम्बेले जानकारी दिए ।

मुद्दाका आधारमा विपक्षी दलहरू एकै ठाउँमा आउने पहल भइरहेको र संसदमा सामूहिक रूपमा सरकारको कार्यशैलीको प्रतिवाद गरिने उनले बताए । संसदीय समन्वय बोर्डको अभ्यासका विषयमा प्रष्ट पार्दै उनले पार्टीले यसअघि गरेका निर्णयहरूको कार्यान्वयन र आगामी संसदीय रणनीतिबारे बोर्डमा घनीभूत छलफल भएको जानकारी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =