संसद र पार्टीबीचको समन्वयमा काँग्रेसको जोड: जनसरोकारका मुद्दा संसदबाटै उठाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय बोर्डको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकमा मुख्यतया संसद र पार्टीबीचको समन्वयलाई प्रभावकारी बनाउँदै आगामी कार्यदिशा तय गर्ने विषयमा गहन छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद र पार्टीको कार्यशैलीमा एकरूपता ल्याउने र सांसदहरूलाई थप सक्रिय बनाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिइन् ।

बैठकमा सुकुम्वासी समस्या र संवैधानिक परिषद्सम्बन्धी विधेयक जस्ता समसामयिक र महत्त्वपूर्ण विषयमा समेत प्रारम्भिक छलफल भएको छ ।

यी विषयहरूमा पार्टीको आधिकारिक धारणा आगामी संसद बैठक सुरु भएपछि सार्वजनिक गरिने प्रमुख सचेतक थापाले बताइन् ।

उनले भनिन् ‘आजको बैठकमा मुख्य गरी संसद र पार्टीबीच कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । संवैधानिक परिषद् र सुकुम्वासी लगायतका विषयमा हामी आन्तरिक छलफलमै छौँ । आगामी २८ गतेभित्र संसदको अधिवेशन आह्वान हुनेछ । त्यसपछि हामी सदनमार्फत नै आफ्ना विषयहरू सार्वजनिक गर्नेछौँ ।’

संसदीय बोर्डको यो बैठकले सांसदहरूलाई सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न र पार्टीको नीति तथा जनसरोकारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =